१२ असार २०८१, बुधबार

एमालेले नजितेमा देश झन् बर्बादीतर्फ जाने अध्यक्ष ओलीको तर्क


झापामा केपी ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले नजितेमा देश झन् बर्बादीतर्फ जाने तर्क गरेका छन् ।

आफ्नो गृहजिल्ला झापामा रहेका एमाले अध्यक्ष ओलीले विर्तामोडमा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजितेमा देश झन् बर्बादीतर्फ धकेलिने संकेत गर्दै सत्ता मोहको हुटहुटी ओकलेका छन् ।

तीन दिने गृहजिल्ला भ्रमणमा आएका एमाले अध्यक्ष ओलीले गठबन्धनले गरेको ज्याद्धती र मुलुकबिरोधी कामको फेहरिस्त प्रस्तुत गर्दै यस्तो संकेत गरेका हुन् । ओलीले आगामी संघीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पंक्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो गरे । अध्यक्ष ओलीले नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचार-प्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले भने, “आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।” उनले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुआत गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताए ।

उनले पार्टीभित्र अराजकता र बेथिति बढेकाले सच्चिएर अगाडि बढ्नसमेत कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टी अध्यक्षको गृहजिल्लाका रुपमा झापालाई देश र विदेशबाट समेत नियाँलिरहेको जनाउँदै उनले आउँदो निर्वाचनमा झापामा एमालेलाई हार्न छुट नभएको दाबी गरे ।

उनले व्यक्तिवादी र गुटगत प्रवृत्तिबाट माथि उठेर पार्टीको विधि, पद्धति र नीतिमा अडिग हुनुको विकल्प नरहेको बताए । नेकपा एमाले जनताले जन्माएर हुर्काएको पार्टी हो भन्दै उनले पार्टीलाई जिताउन अहिल्यैदेखि वैचारिक प्रशिक्षण चलाउनुपर्ने र मतदाता शिक्षा टोलटोलमा पुर्याउनुपर्ने सुझाव दिए ।

ओलीले पार्टीसहित हरेक भातृ संघसंगठनहरुले टोल-टोलमा संगठन, घर-घरमा सदस्यको नारा लिएर अभियान लिएर अघि बढ्नुपर्ने बेला आएको बताए । उनले जनतालाई सुसूचित नगर्दा अघिल्लो स्थानीय निर्वाचनमा एमालेको धेरै भोट बदर भएको तथ्य राखेर अव सवै नेता कार्यकर्ता जनताको घरमा भेटिनु पर्ने बताए ।

उनले गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाको अभावमा पार्टीले कार्यकर्ताको मतको संरक्षण गर्न नसकेको बताए । अध्यक्ष ओलीले एमालेका कार्यकर्ता अरूभन्दा ‘एडभान्स’ हुनका लागि रचनात्मक र उद्यमशील हुनुपर्नेमा जोड दिए । एमालेका कार्यकर्ता गरी खानसक्ने हुनुपर्ने उनको भनाइ थियो ।

उनले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने बताए । उनले झापा जिल्ला आन्दोलनको उर्वभर भूमि भएको र नयाँ युगको सुरुवात यहीँबाट भएको बताए । उनले झापा जिल्ला एमालेको लालकिल्ला भएको भन्दै २०४८ सालको निर्वाचनमा ’मेची अञ्चल, चार जिल्ला, एमालेको लालकिल्ला’ भनेर हामीले नारा लगाएको स्मरण गर्दै अब फेरि यो जिल्लामा लालकिल्लाको नारा लगाउने बेला आएको बताए ।

उनले झापाको १५ पालिकामध्ये दमकको परिणामबारे देश विदेशले चासो देखाएको बताउदै उनले जिल्लाको १५ वटा पालिका जित्न नसकेको भन्दै गुनासो गरे । उनले बहुदल आएपछि २८ वर्षमध्ये २१ वर्ष सरकारको नेतृत्व कांग्रेसले गरेको पनि उनले स्मरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !