१२ आश्विन २०८१, शनिबार

प्रचण्डको तर्क : संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो भएन


प्रचण्ड एयरपोर्टमा फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको तर्क गरेका छन् ।

आज सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शासन प्रणालीका दृष्टिकोणले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दावी गरेका हुन् ।

प्रचण्डले करोडौं खर्चिएर सांसद भएपछि मन्त्री र मन्त्री भएपछि लगानी उठाउन भ्रष्टाचार गर्ने गरिएको उल्लेख गर्दै उनले सांसद नभई मन्त्री हुन नपाइने र सांसद नभई प्रधानमन्त्री हुन नपाइने भएकोले मन्त्री र प्रधानमन्त्री हुनका लागि करोडौं खर्च गर्नुपर्ने स्थिति सिर्जना भएको उनले स्वीकार गरे ।

उनले भ्रष्टाचार संस्थागत हुने कारण हाम्रो निर्वाचन प्रणालीभित्र रहेको भन्दै आफूहरुले संविधान लेखनकै क्रममा यस्तो निर्वाचन प्रणाली र शासकीय स्वरुपले जनताले खोजेको नपाउने स्पष्ट बताए । उनले माओवादी पार्टीसँग मात्र राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको जिकिर समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !