११ पुस २०८१, बिहीबार

पत्रकारले कुनै दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? : रवीन्द्र मिश्र

रवीन्द्र मिश्र भन्छन्- पूर्व पत्रकार भन्न नि लाज लाग्छ !


रबिन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले पत्रकारले कुनै दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले सच्चा पत्रकारले पनि कुनै दलप्रति आस्था राख्न सक्ने तर उसले सो दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? भनेर आपत्ति प्रकट गरेका हुन् ।

उनले देशका प्रधानमन्त्री र आशा गरिएको भनिएका नेता पार्टी आवद्ध पत्रकार युनियनमा गएर आदर्शको भाषण दिन्छन् भनेर व्यंग समेत गरेका छन् । उनले नेपाली काँग्रेसका महामन्त्रीद्वयहरु गगन थापा र विश्वप्रकाश शर्माका साथै उपाध्यक्ष धनराज गुरुङप्रति पनि कटाक्ष गरेका हुन् ।

नेपाली काँग्रेसनिकट पत्रकार संघ नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सो राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा काँग्रेसका आश गरिएका यूवा नेताहरु थापा, शर्मा र गुरुङ पनि देखिएपछि नेता मिश्रले उनीहरुप्रति व्यंग गरेका हुन् । पत्रकार, प्राज्ञ, कर्मचारी, वकिल, डाक्टर, इन्जिनियर सबैलाई झोले बनाउनेले भोली सुशासन दिने ? भनेर पनि उनले गम्भीर प्रश्नचिन्ह उठाएका छन् ।

मिश्रले त्यस्ता ‘दलीय’ पेसागत संगठन भङ्ग गर्न माग गर्ने आँट नभएका नेताबाट रूपान्तरणको के आश गर्ने ? भनेर पनि प्रश्न गरेका छन् । उनले एउटा सरकारी कार्यालयमा सातवटा युनियनको बोर्ड झुण्डाएर अनि सर्वोच्च अदालतमा दलीय आस्थाका आधारमा न्यायाधीश पठाएर तपाईँले आश गरेको नेताले कसरी सुशासन र समुन्नति दिने रहेछन् हेरूँला भनेर पनि लेखेका छन् ।

यस्तो पनि हो ? बोल्नु पर्दैन तपाईँहरू ? बुढा नेतालाई गाली गरेर, हटाएर मात्रै देश बन्छ ? भनेर काँग्रेसका यी यूवा नेताहरुलाई सचेत गराएका छन् । उनले आफूलाई पूर्व पत्रकार भन्न नि लाज लाग्ने टिप्पणी गरेका छन् ।

मिश्रले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा आपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । विगतमा मिश्रले बीबीसी नेपाली सेवा लामो समयसम्म पत्रकारिता गरेपछि राजनीतिमा होमिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !