१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको बाबुरामलाई प्रस्ताव : नेकपा (समाजवादी केन्द्र) बनाऔं


प्रचण्ड र डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले कारबाहीमा परेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई नेकपा (समाजवादी केन्द्र) बनाउँन प्रस्ताव गरेका छन् ।

हिजो बुधबार ललितपुरस्थित प्रचण्डका नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा प्रचण्डले बाबुरामलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका हुन् ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार केही दिनदेखि भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट जारी रहेको र सोही क्रममा हिजो बुधबार बिहान पनि भट्टराईसँग भेट भएको जनाएको छ ।

यद्यपि भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताएपनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका थिए । अस्ति मंगलबार पनि प्रचण्ड र बाबुरामबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको थियो ।

दुई पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र बाबुरामबीच भेटवार्ता बढ्नुलाई राजनीतिक वृत्तका विशेष चासोका साथ हेरिएको छ । बाबुरामले माओवादी छोडेपछि एक-अर्कामा लगभग पानी बाराबारको सम्वन्ध भएका दुई शीर्ष नेताहरुबीच भेटघाटलाई अर्थपूर्ण लिएको पनि छ ।

भट्टराईलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको थियो । नेकपा (समाजवादी केन्द्र) बनाउने विषयमा बाबुरामको प्रचण्डसँग छलफल जारी रहेको हो ।

यो पनि पढ्नुहोस्

प्रचण्डले भने- हेर्दै जानुहोला अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ

प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !