काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब वामपन्थी पार्टीहरू एक भएर अघि बढ्ने संकेत गरेका छन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ शीर्ष नेताहरुको सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अप्रत्यक्ष रुपमा वाम एकताको संकेत गरेका हुन् ।
तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको छलफलपछि प्रचण्डले आफूहरु छिट्टै नजिक हुने संकेत गरेका हुन् । उनले आफूहरू विचार मिल्नेसँग एकता गर्नेबारे छलफल भइरहेको बताएका छन् । ‘हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ,’ उनले भने ।
उनले अहिलेको गठबन्धनबाहेक पनि विचार मिल्नेहरूबीच पार्टी एकता हुनसक्ने बताएका हुन् । बैठकमा विचार मिल्ने पार्टीहरुसँग एकता गर्नेबारे छलफल भएको र आजै सम्पन्न बाबुराम भट्टराईसँग पनि यसै सन्दर्भमा छलफल भएको उनले बताए ।
उनले बैठकमा सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पजि छलफल भएको बताए । उनले आफूहरुको बैठक गठबन्धनविरुद्ध नभएको स्पष्ट पारे ।