७ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा जसपा उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक शुरु


यादव समूहको केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको बैठक शुरु भएको छ । आज बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको हो ।

बुधबार पार्टी अध्यक्ष यादवले बैठक उद्घाटन गरेका हुन् । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको उक्त बैठक बिहीबारसम्म चल्ने छ ।

बैठकमा वरिष्ठ नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, लालबावु राउतलगायतको सहभागिता रहेको छ । जारी बैठकमा ३२ कार्यकारिणी सदस्यमध्ये २४ जना र ४९९ केन्द्रीय सदस्यमध्ये ३५० भन्दा बढी सहभागी रहेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहको अनुपस्थिति रहेको छ । पार्टी विभाजनको संघारमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बेग्ला-बेग्लै बैठक र भेला प्रारम्भ गरेका छन् ।

भट्टराई समूहले हिजो मंगलबार काठमाडौंमा आफ्नो समूहका नेताहरुको विस्तारित बैठक बोलाएका थिए । हिजो भट्टराई पक्षले आफ्नो साथमा ४ ९९ जनामध्ये २३० केन्द्रीय सदस्य रहेको दाबी गरेको थियो ।

हिजो भट्टराईले आजको वीरगन्जको बैठक स्थगन गर्न पनि यादवलाई सुझाव दिएका थिए । उनले हिजो बैठक वैधानिक र आधिकारिक भएको दावी गरेका थिए । पछिल्‍लो समय दुवै नेताबीच विवाद चर्किदै गएपछि पार्टी फुटको संघारमा पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !