काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताएको जनाइएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ । विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मंसिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ । निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ ।