काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नवनियुक्त ४ मन्त्रीहरु र १ राज्यमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सोमबार बिहान आयोजित समारोहमा नेकपा एसका नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री देउवासमक्ष सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ नेकपा एसबाट मन्त्रीहरु र राज्यमन्त्री नियुक्त गरेकी थिइन् ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्रीमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गतवर्ष २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गरेकी थिइन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्री र राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका ५ जना नयाँ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् हेरफेर गरिएको थियो ।