८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन : गृहमन्त्री खाण


बालकृष्ण खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित नभएको सदनमा जानकारी गराए ।

सांसदहरुले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उनले भ्रमणका विषयमा जवाफ दिँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने स्पष्ट पारे ।उनले विभिन्न देशका निम्तामा प्रधानमन्त्री, मन्त्रीहरु बेलाबेलामा भ्रमणमा जाने कुरा स्वभाविकै भएको बताए ।

द्रुतमार्गको प्रगति १९.८३ प्रतिशत

गृहमन्त्री खाणले काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अन्य सडकभन्दा यो सडक पृथक रहेको जानकारी दिए । उनले चुनौतिपूर्ण काम नेपाली सेनाले जिम्मा लिएको र अहिलेसम्म यस कार्यको १९ दशमलव ८३ प्रतिशत प्रगति भएको सदनलाई जानकारी दिए ।

“ठाउँठाउँमा सुरुङ बनाउनुपर्ने र अग्लो पुल बनाउनुपर्ने भएकाले समय लागेको हो, द्रुतमार्ग बनिसकेपछि सुरक्षित यात्रा हुने विश्वास छ”, गृहमन्त्री खाणले भने । उनले पछिल्लो पटक बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले सुरुङमार्ग बनाउने योजना अघि सार्नुभएकोमा प्रशंसा पनि गरे ।

नेपाली सेनाले पेशागत जिम्मेवारीसहित कठिन क्षेत्रमा ३२ सडक निर्माण गरेको उनले जानकारी दिए । सेनाले चालु आर्थिक वर्षमा काठमाडौँ तराइ मधेश द्रुत मार्गलगायत कठिन भूभागमा रहेका पाँच वटा ठूला आयोजनामा निर्माण कार्य गरिरहेको छ ।

नेपाली सेनाले आफ्नो पेशागत जिम्मेवारी सहित कठिन भूमिमा ३२ वटा सडक निर्माण गरिसकेको उनले जानकराी गराए ।

सेनाद्धारा ४ हजार बढीको खोज तथा उद्धार

सेनालाई राष्ट्रिय सुरक्षा विकास निर्माण, विपद व्यवस्थापन विश्व शान्ति, पर्यावरणीय सुरक्षा, महामारी नियन्त्रण जस्ता जिम्मेवरीका साथै भौतिक पूर्वाधारलगायतमा काममा बजेट विनियोजन गरिएको छ ।

गृहमन्त्री खाणले विपद व्यवस्थापनको सन्दर्भमा सेनाले ४ हजार २०४ जनाको खोज तथा उद्धार गरेको जानकारी दिए । कुल २६९ स्थानका आगलागी निणन्त्रण गरिएको, १३८ जनाको पर्वतीय तथा सुत्केरी महिलाको उद्दार गरिएको तथा सर्पदंशका विरामीको उपचार गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री खाणले सुरक्षामा सेनालाई बढी सवल कसरी बनाउने भन्ने कुरामा नै ध्यान पुगेको बताए । उनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेना रहने भन्ने कुरा रहेकाले समावेशी बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए ।

नेपाली सेनालाई थप व्यावसायिक बनाउनुपर्ने विषयमा आएको सुझाव सकारात्मक रहेको उनले बताए । अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको मन्त्री खाणले बताए ।

राष्ट्रिय सुरक्षा प्रतिरक्षालगायतका सन्दर्भमा अध्ययन अनुसन्धानको व्यवस्था गरी सुरक्षा क्षेत्रको जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनका लागि पुर्वाधार निर्माण विकास समिति निर्माण गरी प्रक्रिय अघि बढाइएको पनि उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !