५ जेष्ठ २०८१, शनिबार

सरकार परिवर्तन हुँदैमा नेपालको परराष्ट्र नीति परिवर्तन हुँदैन : काँग्रेस सांसद देव


जितेन्द्रनारायण देव

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति सरकार परिवर्तन हुँदैमा परिवर्तन नहुने स्पष्ट पारेका छन् । नेपालको पराष्ट्र नीति भनेको पञ्चशीलको सिद्धान्त र असंग्नता नीति नै भएको बताउँदै सांसद देवले राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, र जलस्रोत नीतिका सम्वन्धमा परराष्ट्र मन्त्रालयले मुख्य राजनीतिक दलका नेताहरुसँग छलफल गरी कम्तिमा सो विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय सभाको बुधबारको बैठकको बिशेष समयमा बोल्दै सांसद देवले युक्रेन र रसियाको युद्धले गर्दा अहिले विश्वको राजनीति र कुटनीति चूनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । उनले ताईवान वरपरको भूमि देखि फिलिपिन्स र फिजीसम्मको भूभागको वर्तमान अवस्था द्वन्द्वका हिसाबले गम्भिर बन्दै गईरहेको चाईना र अमेरिकाबाट आईरहेका पछिल्ला वक्तव्यहरुबाट पुष्टि भईरहेको पनि बताए ।

विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद खिमलाल भट्टराईले नागरिकतासम्वन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार जिम्मेवार नभएको आरोप लगाएका थिए ।

सांसद भट्टराईले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको भन्दै सामुदायिक विद्यालयको स्तर खस्कँदै गएकोेप्रति चिन्ता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयमा लामो समय देखि प्रधानमन्त्रीकै दलको भातृ संगठनले तालाबन्दी गरेर विद्यार्थीहरुको भविष्य प्रति खेलबाड गरिरहेको भन्दै सांसद भट्टराईले प्रमुख प्रतिपक्ष दलले संसदमा उठाएका आवाजहरुलाई सरकारले वेवास्ता गर्दा संसदकै गरिमा घटिरहेको बताए ।

सांसद भट्टराईले जताततै समस्या नै समस्या देखिएको, किसानले अहिलेसम्म मलखाद नपाएको तथा प्रधानमन्त्री देशको समस्या समाधान गर्नेतिर भन्दा पछि कुर्सी र गठबन्धन जोगाउनेतिर मात्र लागेको आरोप लगाए ।

विशेष समयमा सत्तागठबन्धन दल नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशआले मगरले देशमा झण्डै पाँच लाख व्यक्ति लागू पदार्थको दुव्र्यसनमा फसेको तथ्य प्रस्तुत गर्दै लागू पदार्थको दुव्र्यसनलाई घटाउने विषयलाई सरकारले गम्भीरता पूर्वक लिँदै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका थिए ।

सांसद आलेले भने,‘लागू पदार्थको दुव्र्यसनको बारेमा सरकारले ध्यान दिएको छैन, सुधार केन्द्रको बारेमा राज्यसँग कुनै नीति छैन, यसलाई सही ढंगबाट समाधानको बाटो खोजिनुपर्छ ।’

उनले केही दिन अघि लमजुङ्गमा विन्ध्यवासीनी हाइड्रोपावरका भ्रष्ट दुई जना कर्मचारीले आफ्नो कवाडीको समान लैजान भने पछि पुगेका दुई जना व्यक्तिहरुले चोरीको आशंका लागेपछि प्रहरीलाई खबर गर्दा उल्टै उनीहरुलाई प्रहरीले थुनामा राखी मुद्दा चलाएर दुःख दिएको भन्दै दोषी प्रहरीका डिएपी कृष्ण कार्की र ईन्सपेक्टर जगदीश रेग्मीलाई कारबाहीको माग गरेका थिए । सांसद आलेले अस्ति बर्दियामा घटेको घटनाका दोषीलाई पनि हदैसम्मको कारबाहीको माग गरेका थिए ।

सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले राउटे समुदायको संरक्षण गर्दै उनीहरुलाई एउटा जातीको रुपमा विकास गर्नु राज्यको दायित्व भएको बताएका थिए ।

सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी)की सांसद नन्दा चपाईंले बालिनालीका लागि किसानहरुलाई तत्काल कृषि मलको आवश्यकता परिसक्दा पनि सरकारले मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाली काँग्रेसकी सांसद गोमादेवी तिमल्सिनाले ७ वटै प्रदेशहरुमा उद्योग धन्दाको विकास गर्ने भनेर बजेटमा लेखेर मात्र नहुने भन्दै उद्योग धन्दालाई आवश्यक पर्ने कच्चा पदार्थको परिपूर्तिको वातावरण समेत सरकारले तयार पार्नुपर्ने बताइन् ।

विशेष समयमा बोल्दै सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द)का सांसद जगप्रसाद शर्माले संघीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको खण्डमा भ्रष्टाचार न्यूनिकरण हुने धारणा व्यक्त गरेका थिए ।

विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले नेपालको परराष्ट्र नीतिको सम्वन्धमा सरकारको प्रष्ट धारणा हुनुपर्ने राय व्यक्त गर्दै परराष्ट्र नीतिको बारेमा सबै राजनीतिक दलहरुको सल्लाह र सुझाव लिएर सुन्तलित परराष्ट्र नीति अबलम्बल गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकको समग्र विकासको आधार मानिने शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै समृद्ध, समतामूलक, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्ने शिक्षाको आवश्यकता रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !