१८ असार २०८१, मंगलबार

प्रचण्डको धम्की : एमालेजस्तै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस्


प्रचण्ड फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस् भनेर चेतावनी दिएका छन् ।

माओवादी केन्द्रले आज कमलपोखरीस्थित पूरानो कुमारी हलमा आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेसलाई पनि एमालेको हालतमा लैजाने दिन नआओस भन्दै धम्की दिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै स्थानीय निर्वाचनमा धेरै ठाउँ जितेपछि कांग्रेसमा दम्भ र अहंकार चुलिएको आरोप लगाएका छन् ।

प्रचण्डले विगतमा अहंकारकै कारण एमालेलाई ठेगान लगाएको भन्दै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् भनेर सचेत गराएका हुन् । प्रचण्डले स्थानीय चुनावमा पाएको सफलतासँगै कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता रहेको बताए ।

निर्वाचनमा गठबन्धनमा भरपर्दा माओवादीलाई सोचेजस्तो नतिजा नआएको उनले जिकिर गरे । आफूहरुले संविधान, लोकतन्त्र र राष्ट्रिय रक्षाका लागि गठबन्धन कायमै राखेर अघि जान खोजेको भन्दै प्रचण्डले कांग्रेसबाट अहंकार र दम्भ आयो भने त्यसविरुद्ध पनि प्रतिकार गर्ने चेतावनी दिए।

हिजो मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आफू र नारायणकाजी श्रेष्ठले कांग्रेसमा अहंकार नआओस् भनेर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएको प्रचण्डले दाबी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !