काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा केहि समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने बताइएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको दोस्रो नम्वरमा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्ने रहेको छ ।
आजको प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने भएको छ । राष्ट्रियसभाको बैठकवाट यसअघि नै नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था अनुसार बजेट प्रस्तुत गर्नुअघि सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ ।
यस्तै संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीमा आज शनिबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने उल्लेख गरिएको छैन ।
हिजोका लागि नै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन पाएको थिएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ ।
भोलि जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।
यस्तो छ हेर्नुहोस् संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची