७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश र नीति तथा कार्यक्रम पारित हुने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक शनिबार ११ बजे बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने बताइएको छ ।

आजको प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने भएको हो । राष्ट्रियसभाको बैठकवाट यसअघि नै नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।

नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था अनुसार बजेट प्रस्तुत गर्नुअघि सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ ।

यस्तै संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा आज शनिबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने उल्लेख नगरिएपनि संसद सचिवालयले बैठकअघि सार्वजनिक गर्ने कार्यसूचीमा आर्थिक सर्वेक्षण समावेश गर्नेछ ।

हिजोका लागि नै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन पाएको थिएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ ।

भोलि जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

संसदको सम्भावित कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !