७ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र हुन सकेन : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का अध्यक्ष तथा पूर्व प्रधानन्त्री केपी शर्मा ओली भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताएका छन् । निर्वाचनमा सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गर्दै विगतको पंचायतकालीन अवस्थामा भन्दा पनि नाङ्गो हस्तक्षेप गरि प्रतिपक्ष दल माथि आक्रमण, दमन र हिंसामा उत्रिएको आरोप लगाए ।

प्रतिनिधि सभामा आजबाट शुरु भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा पहिलो वक्ताको रुपमा भाग लिंदै अध्यक्ष ओलीले निर्वाचनका क्रममा मुलुकका विभिन्न स्थानमा प्रहरीले मतदातालाई गोली हानेर अंगभंग बनाएको तथा सत्ता गठबन्धनका तर्फबाट एमालेका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण र कुटपिट गरी निर्वाचन विथोल्ने प्रयास समेत गरेको दावी गरे ।

कतिपय ठाउँमा सत्तापक्षले बुथ कब्जा गर्दा पनि प्रहरी निरीह भएर बसेको बताउँदै अध्यक्ष ओलीले उम्मेदवारकै घरमा बम पड्काएर घर समेत भत्काइएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रतिपक्षलाई पत्तासाफ गर्ने र धुलो चटाइदिने भनेर गठबन्धनको घोषित नीति नै रहेको दावी गर्दै जसरी पनि चुनाव जित्नु पर्छ भनेर गठबन्धनले गीत नै बनाएको बताए । उनले सरकारद्वारा संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नं ११०, १३१, १६२ निरर्थक रहेको दावी गर्दै नेपालको परराष्ट्र नीति के हो ? र नेपाल एक चीन नीतिको पक्षमा छ कि छैन ? भनी सभामुख मार्फत सरकारलाई प्रश्न समेत गरेका थिए ।

सांसदहरुले घुमाउरो पारामा बेला बेलामा आफूले भ्रष्टाचार गरेको भनी व्यंग्य गर्ने गरेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो सम्पूर्ण चलअचल सम्पत्ति नै राष्ट्रको नाममा गरिसकेकाले भ्रष्टाचार गरेर नेपाल सरकारको नाममा थप सम्पत्ति हासिल गराइदिने आफ्नो कुनै रहर नभएको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले यसै सन्दर्भमा प्रश्न गर्दै भने,‘मलाई मुखभरि जवाफ दिनकै लागि भए पनि भन्दिनुस् अरु कोही हुनुहुन्छ आफ्नो सम्पत्ति राष्ट्रको नाममा गरिदिने ?’

नेपालको स्वतन्त्र परराष्ट्र नीतिको विपरित सरकारकाले नीति तथा कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको उत्पादन देखि र व्यापारसम्म नेपाल र भारतले संयुक्तरुपमा जारी गरेको ऊर्जा विकास सम्बन्धी दीर्घकालीन अवधारणा बमोजिम गर्ने भनेर राखेर भन्दै आपत्ति प्रकट गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख भए पनि बेल्ट रोड ईनिसियशन(बीआरआई)को सहयोग लिने नलिने सम्बन्धमा कुनै पनि कुरा नआएको बताए ।

अध्यक्ष ओलीले यसै सन्दर्भलाई जोड्दै प्रश्न गरे,‘हाम्रो विदेश नीति राष्ट्रिय स्वार्थमा चल्ने हो कि, सत्ता स्वार्थमा चल्ने हो ?’ अध्यक्ष ओलीले लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो र यो फिर्ता ल्याउँछु भन्न नसक्नेले सरकारको नेतृत्व गर्नुको कुनै अर्थ नभएको बताउँदै प्रश्न गरे,‘के राष्ट्रिय अखण्डता र राष्ट्रहितको पक्षमा प्रतिपक्षले मात्र जिम्मा लिने हो ?, यस्को जवाफ चाहिन्छ ।’

उनले नीति तथा कार्यक्रममा आएका अधिकांश विषयहरु शब्दावलीको पुलिन्दाको रुपमा मात्र आएको, खोजीखोजी मिठामिठा शब्द हालेर जनता अल्मल्याउने काम मात्र गरेको आरोप लगाए । अध्यक्ष ओलीले नेपाल र भारत प्रबुद्ध समूहले तयार पारेको (ईपीजी रिपोर्ट) लाई भारतीय प्रधानमन्त्रीले बुझ्न नमाने पनि नेपालको प्रधानमन्त्रीले भए पनि त्यसलाई बुझेर सदनलाई समेत जानकारी गराउन माग गरेका थिए ।

अध्यक्ष ओलीले आफ्नो स्वास्र्थको लागि वर्तमान सरकार र सत्ता गठबन्धनले सर्वोच्च अदालतलाई पनि महाभियोग मार्फत गिजोलेको कुरा सिंगो देश जानकार रहेको बताए ।

प्रतिनिधि सभाको आजको बैठकको शुरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सम्माननीय राष्ट्रपति महोदयले २०७९ जेठ १० गते मंगलबार सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आव २०७९/८० को नेपाल सरकराको बार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यही जेठ १० गते बसेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रम माथि विभिन्न राजनीतिक दलका ६ जना सांसदहरुले ८१ वटा बुँदाहरुमा संशोधन हालेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !