७ मंसिर २०८१, शुक्रबार

भरतपुरमा फराकिलो मतान्तर बढाउँदै दाहाल, पछ्याउँदै सुवेदी


रेनु दाहाल, विजय सुवेदी र जगन्नाथ पौडेल

भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल र नेकपा (एमाले) का विजय सुवेदी बीचको मतान्तर १ हजार ३९३ पुगेको छ ।

दाहाल ९ हजार ४४७ मतका साथ अग्रस्थानमा छिन् भने सुवेदी ८ हजार ५४ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार २६५ मतका साथ तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गर्नुभएको छ । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ ।

वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ २ हजार ६१ मत र नेकपा (एमाले) का डोलनारायण अधिकारीले १ हजार ७६१ मत प्राप्त गरेका छन् । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।

भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !