काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार साहले अग्रता कायम राखेका हुन् ।
बालेनले अग्रता बढाउँदै १७८ मत प्राप्त गर्दा दोस्रोमा गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सिर्जना सिंहले १२० प्राप्त गरेकी छन् भने यसगरी तेस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११० मत प्राप्त गरेका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा ३ लाख बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ भई रहेको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।