७ मंसिर २०८१, शुक्रबार

कैलाली जिल्लाका केही पालिकामा मतगणना सुरु


मतगणना सुरु फाइल फोटो

टीकापुर । शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार गोलाप्रथाबाट छनोट गर्दा सबैभन्दा पहिले वडा नं ५ को गणना हुने भएको छ । वडा नं ५ पछि ३, ९, ४, ८, १, ७, २ र ६ नं वडाको गणना हुने भएको छ ।

लम्कीचुहा नगरपालिकामा ३३ हजार ९४८ मत खसेको छ । कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।

जानकी गाउँपालिकाका केही स्थानमा शुक्रबार बेलुका मतपेटिका उठाउने क्रममा विवाद भएको छ । वडा नं २ मा मतपेटिका उठाउने क्रममा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । जानकीमा अहिले ८ बजे सर्वदलीय छलफल मतगणना सुरु गर्नेबारे समय तोकिने बताइएको छ । जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने बताइएको छ । सबै ठाउँमा मतपेटिका सङ्कलन भइसकेकाले मतगणना सुरु गरिने छ ।

कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनासमेत आजदेखि नै सुरु हुनेछ । मतपेटिका सङ्कलनमा समय लागेकाले दिउँसोबाट मतगणना थालिने बताइएको छ । धनगढीमा पनि अहिले सर्वदलीय बैठक बसेर छलफलपछि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालय कैलालीकाअनुसार कैलालीमा ६५ प्रतिशत मत खसेको छ ।

जिल्लामा ६१९ मतदान केन्द्रबाट निर्वाचन भएको हो । १३ स्थानीय तहमा पाँच लाख २५ हजार १२५ मतदाता रहेकामा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !