१३ पुस २०८१, शनिबार

विशिष्ट व्यक्तित्व र शीर्ष नेताहरु कहाँबाट गर्दैछन् मतदान ?


सत्ता गठबन्धन आमसभा चितवन भरतपुर फाइल फोटो

काठमाडौँ । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ-आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् ।

मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका-७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका-६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका-१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका-५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका-७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका-८ स्थित परोपकार माविबाट मतदान गर्नेछन् ।

माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित कमला माध्यामिकवि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका-२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नेछन् ।

सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा (एमाले) उम्मेदवार केशव स्थापितले बागबाजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका-१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका-१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् ।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।

जसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

उपराष्ट्रपतिले मतदान नगर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !