१२ आश्विन २०८१, शनिबार

मैले बोलेको बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै छन् : अध्यक्ष ओली


केपी शर्मा ओली पोखरामा

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै भएको दावी गरेका छन् ।

पोखरामा आज एमालेले आयोजना चुनावी सभा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले बोलेका कुरा नबुझ्नेले उखान टुक्का भन्ने गरेको समेत आरोप लगाए । ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो समेत गरे ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरेर एमालेले पोखराको अमरसिंह चौरमा गरेको चुनावी सभामा बोल्दै ओलीले भने, ‘मैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु, उसले उखान टुक्का भन्छ ।’

कांग्रेसका नेताहरूले आफ्ना भनाइलाई उखान टुक्का नबुझेर भनेको भएपनि बुद्धिजीवीले त्यस्तै बोलेकोमा ओलीले आपत्ति जनाएका हुन् । उनले आफूले देश विकासको कुरा गरिरहेको दावी समेत गरे । ओलीले बुद्धिजीवीहरूप्रति पनि आक्रोश प्रकट गरेका छन् ।

‘कांग्रेसका नेताहरूले उखानटुक्का भन्नु त ठीकै थियो, उनीहरू बुझ्दै बुझ्दैनन् । तर अरुले पनि, कतिपय केही मान्छे छन् सो कल्ड बुद्धिजीवी । उनीहरू पनि उखानटुक्का भन्छन् । यो उखानटुक्का होइन, देश बनाउने नीति, प्रतिबद्धताको कुरा हो ।’

एमालेलाई बाहिरबाट खत्तम पार्ने प्रयास भएको समेत उनले आरोप लगाए । यद्यपि कसले त्यस्तो गरेको भन्ने उनले स्पष्ट खुलाएनन् । उनले भने, ‘एमालेलाई खत्तम पार्ने प्रयास भए । बाहिरबाट हमला भए । बदानाम गर्न खोजियो, चरित्र हत्या गर्न खोजियो, एमालेका नीति बंग्याएर प्रस्तुत गरियो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !