६ जेष्ठ २०८१, आइतबार

उम्मेदवारलाई छोरी र श्रीमती भनेर कुप्रचार गर्नु महिलाकै अपमान हो : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूलाई छोरी र श्रीमती भनेर कुप्रचार गर्नु महिलाकै अपमान भएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज शुक्रबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डले केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको बताएका हुन् ।

उनले भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेकी आफ्नी छोरी रेनु दाहाल र काठमाडौँ महानगरपालिकामा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेकी काँग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको बारेमा कुप्रचार गरेर महिलाकै अपमान गरेको बताएका हुन् ।

महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । उनले यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ-जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको दावी समेत गरे । उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको बताए ।

उनले फरक प्रसंग कोट्याउदै पार्टीभित्र आफू अल्पमतमा परेपछि केपी शर्मा ओलीले संसद विघटन गरेको बताएका छन् । विगतमा नेकपामा हुँदाको प्रसंगलाई सम्झदै पार्टीको बहुमत सदस्यले ओलीले हटाएको स्मरण समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !