१० असार २०८१, सोमबार

काठमाडौंमा सत्ता गठबन्धनले आज चुनावी सभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने


सत्ता गठबन्धन आमसभा चितवन भरतपुर फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आज शुक्रबार काठमाडाैं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले चुनावी सभा गर्न लागेको हो ।

हिजो बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेकाे गठबन्धनले आज दिउँसाे १ बजे काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिका सभा गर्न लागेकाे हाे । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज) ले जानकारी दिए ।

यस्तै उक्त सभालाई कांग्रेस नेता रामचन्द्र पौडेल र गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंह र उपप्रमुख पदका उम्मेदवारले पनि सम्बोधन गर्नेछन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।

हिजो बिहीबार भरतपुरमा आयाेजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडाैंमा सभा गरेर उपत्यकाका तीन जिल्लामा उठेका उम्मेदवारलाई जिताउन आग्रह गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !