चितवन । पाँच दलीय सत्ता गठबन्धनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । गठबन्धनको आज चितवनको भरतपुरमा गर्ने भनिएको संयुक्त सभा गर्ने ठाउँ नै जलमग्न भएर पहिलो गाँसमै ढुंगा लागेको हो ।
गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको चितवनको चुनावी कार्यक्रम वर्षाका कारण केही प्रभावित भएको हो । भरतपुरमा रातिदेखि परेको वर्षाका कारण संयुक्त आमसभा गर्ने स्थान नै जलमग्न भएको हो ।
भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नका लागि मञ्च बनाइएको छ । उक्त मञ्च पनि जलमग्न भएको छ भने कार्यक्रमस्थल पनि डुबानमा परेको छ ।
गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो । सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाएर पानीमा डुबेका छन् ।
आगामी वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा आज संयुक्त सभा गर्न लागेको हो । भरतपुरमा आज हुन लागेको संयुक्त सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।
आज हुन लागेको सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै उक्त कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरू पनि सहभागी हुने भएका छन् ।