२३ बैशाख २०८१, आइतबार

चुनावी भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


सत्ता गठबन्धन बैठक

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । सत्ता गठबन्धनको बैठक आज साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा जुट्न लागेका हुन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डाको गाँठो पोखरा महानगरपालिमा अड्किएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा ६ मध्ये ५ महानगरको भागबण्डामा लगभग सहमति भएतापनि पोखरामा हुन नसकेको थिएन ।

बैठकमा सहभागी एक नेताका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने सहमति भएको हो । ती नेताका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टी तथा पोखरामा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टी दुवैले दावी कायम राखेकोले पोखरा बाहेक अन्य ५ वटा महानगरमा सहमति जुटेको हो ।

मूख्यत: नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको मेयर पदमा दाबी नछोडेपछि महानगरको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको हिजोको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । पोखरामा कांग्रेसले समाजवादीको नेतृत्व स्वीकार गर्न नसकेको र समाजवादीले पनि अडान नछाडेकोले ६ वटै महानगरको टुंगो लगाउन भनेर हिजो एकैदिन बिहान र बेलुकी बसेको गठबन्धनको बैठक भागबण्डा टुंग्याउन असमर्थ भएको थियो ।

गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको आज बस्न लागेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाउने दावी गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा हिजो बैठकमा छलफल भएको र आज सोलाई अन्तिम रूप दिंदै सहमति गरिने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !