१२ असार २०८१, बुधबार

सत्ता गठबन्धनमा ६ मध्ये ५ महानगरको भागबण्डामा सहमति


सत्ता गठबन्धन

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डा सहमतिमा पुगेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा ६ मध्ये ५ महानगरको भागबण्डा सहमति हो ।

बैठकमा सहभागी एक नेताका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने सहमति भएको हो ।

ती नेताका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टी तथा पोखरामा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टी दुवैले दावी कायम राखेकोले पोखरा बाहेक अन्य ५ वटा महानगरमा सहमति जुटेको हो । पोखरा महानगरमा सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक भोलि साढे ११ बजे बैठक बसेर टुंगो लगाइने भएको छ ।

यद्यपि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका थिए ।

आज बिहान बालुवाटारमा बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले मोटामोटी सहमतिनजिक पुगेको थियो । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले ६ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्न जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !