काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले ललितपुरको मेयरमा सात जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएको नामहरुमा कांग्रेस ललितपुर महानगर कार्यसमिति सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, वर्तमान मेयर चिरीबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठ रहेका छन् ।
ललितपुरको मेयरमा सिफारिस गरिएका सात जनाको नाम प्रदेशमा पठाइएको छ । अब प्रदेशले नाम केन्द्रमा पठाउनेछ । नेपाली कांग्रेसको विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले टुंगो लगाउने व्यवस्था रहेको छ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।
ललितपुर महानगरको मेयरमा फेरि अर्को एक कार्यकाल दोहोर्याउने इच्छा राखेका वर्तमान मेयर चिरीबाबु सभापति शेरबहादुर देउवानिकट मनिन्छन् । यस्तै नगर सभापति धाख्वा पनि संस्थापन देउवा पक्षकै भएकोले उनले पनि यसपालि मेयर आफूले पाउनुपर्ने दाबी राख्दै आएका छन् । अव देउवाले यो पटक कसलाई मेयर बनाउने हुन्, यो थाहा पाउन केहि दिन कुर्नुपर्ने भएको छ ।