काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल भई रहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
साथै बैठकले प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरेको थियो । गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गरिने संयन्त्रका सदस्य सचिव एवं प्रधानमन्त्री शेरबहादुर देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।