१७ असार २०८१, सोमबार

पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने : अध्यक्ष प्रचण्ड


प्रचण्ड

११ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी वीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन् ।

प्रेस सेन्टर चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए ।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उनले भने, ‘प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।’ समय निकालेर छलफलमा बसेमा कुरो टुंगिने उहाँको भनाइ थियो ।

पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उनले दुई चार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको बताए । प्रचण्डले भने, ‘हतारमा एकता गर्ने, पछि गएर यी कुरा पहिले नै सल्लाह गर्नुपर्ने भन्ने नहोस् भन्ने हाम्रो चाहना छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जुत्ता अनुसारको खुट्टा बनाउने भन्ने भनाइ प्रतीकात्मक भएको बताउँदै उनले भने, ‘लेनिनले के गर्ने भन्ने पुस्तक लेख्दा बरु सय चोटि नाप्ने तर खुट्टा अनुसारको जुत्ता बनाउने भन्ने कुरालाई उनले प्रतीकात्मक रुपमा उठाए । हामी त्यस्तो ठाउँमा आएका छौं । खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्ने छ भन्नुभएको हो ।’

अर्को एक प्रसंगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गइरहेको नेपाल भ्रमणले दुई देशवीचको सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने । यस बाहेक अरू छलफल पनि हुने कार्यक्रम छ ।’ उनले दुई देशवीचको सम्बन्ध सुधार भइरहेको पनि बताए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु