७ मंसिर २०८१, शुक्रबार

यी हुन् हिजो बसेको मन्त्रिपरिषद्ले गरेका बैठकका २३ निर्णयहरु


मन्त्रिपरिषद् बैठक बालुवाटार

काठमाडौं । सरकारले हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २३ निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न निकायमा विभिन्न व्यक्तित्वलाई नियुक्ति गरेको छ ।

सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने निर्णय पनि गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल (काठमाडाँै) र प्रा भगवानदास मानन्धर (काठमाडौँ) लाई मनोनयन गरिएको छ भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त गरिएको छ ।

यसैगरी सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्य, काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल र राजस्व न्यायाधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश डा रवि शर्मा अर्याल, भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ को दफा २६ को उपदफा (२) बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेती र सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

यस्ता छन् हेर्नुहोस् मन्त्रिपरिषद्काको बैठकले गरेका २३ निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !