१९ बैशाख २०८१, बुधबार

राष्ट्रिय सहमति कायम गर्न एमालेको आह्वान, बजेटपछि माओवादीलाई सरकारको नेतृत्वबारे मौन


UML Meeting

काठमाडौँ : नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले मुख्य राजनीतिक शक्ति सहमतिकासाथ अगाडि बढ्नुपर्ने मान्यतामा आफू दृढ रहेको दोहोर्‌याएको छ।

संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रियहितको रक्षा र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न राष्ट्रिय सहमतिको दिशामा निरन्तर प्रयास गरिएको र सो मान्यतामा पुनः जोड दिँदै राजनीतिक स्थायित्व र राष्ट्रिय हित तथा स्वाधीनताका लागि सबै राजनीतिक दललाई सहमतिमा आउन एमालेले पुनः आह्वान गरेको छ।

बजेटपछि सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रलाई दिने भन्ने ‘भद्र सहमति’को चर्चाका सन्दर्भमा भने एमालेको औपचारिक निर्णयमा कुनै उल्लेख छैन। एमालेकै केही नेताले भद्र सहमति गरेको हो भने पालना हुनुपर्ने जनाउँदै आएका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो केही नभएको र तत्काल सरकार नढल्ने दाबी गर्दै आएका छन्।

बैठकपछि पार्टीका सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा सरकारको वार्षिक नीति र कार्यक्रम तथा बजेट अत्यन्त सकारात्मक, अग्रगामी र जनमुखी रहेको ठहर गरिएको जनाइएको छ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसको कार्यान्वयनबाट नेपालको संविधानले परिकल्पना गरेको न्यायपूर्ण र समतामूलक समाजको आधारशीला निर्माणमा योगदान पुग्ने र मुलुक आर्थिक विकास एवम् समृद्धिको दिशामा अग्रसर हुने निष्कर्ष पनि निकालेको छ ।

नीति, कार्यक्रम र बजेटका बारेमा जनतामाझ व्यापक छलफल र परिचर्चा चलाउँदै बजेटको कार्यान्वयनका लागि अनुकूल वातावरण निर्माण गर्न राष्ट्रव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !