२ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा गोबिन्द बन्दीलाई कानूनमन्त्रीमा सिफारिस


गोबिन्द बन्दी फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका तत्कालिन केन्द्रीय सदस्य समेत रहेका गैर सांसद बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ मन्त्री नियुक्तिको लागि सिफारिस गरेका हुन् ।

बिगतमा असार २८ को सर्वोच्च अदालतको परमादेश जारी गराउन महत्वपूर्ण भूमिका खेलेका संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका अधिवक्ता बन्दीलाई प्रधानमन्त्री देउवाले मन्त्री पद उपहार दिन लागेका हुन् ।

बन्दीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्यूत गर्न कानूनी रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

बन्दीलाई कानून मन्त्रालयको जिम्मेवारी दिएपछि वर्तमान कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू उद्योग वाणिज्य मन्त्रालयमा सरुवा गर्ने प्रधानमन्त्री देउवाको तयारी गरेका हुन् । नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारले राष्ट्रपति कार्यालय शीतल निवासलाई जानकारी समेत गराइसेको छ ।

यसअघि पनि अधिवक्ता बन्दीलाई मन्त्री बनाउनेबारे सत्तारुढ गठबन्धनमा छलफल भएतापनि त्यो समयमा उनले मन्त्री पद अस्वीकार गरेको समाचार संचारमाध्यममा आएका थिए । अधिवक्ता बन्दी अन्तर्राष्ट्रिय कानुनका जानकार मानिन्छन् । तत्कालिन ओली सरकारका पालामा उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुख बनाउने तयारी भए पनि उनलाई जिम्मेवारी दिइएको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !