५ जेष्ठ २०८१, शनिबार

प्रकाशमान भन्छन्- स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ


प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताए ।

“गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ,” नेता सिंहले भने ।

पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरे । नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताए । यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले सबैले मेहनत गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले भ्रमको पक्षमा नलागी जनताको घरघरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न सबैलाई आग्रह गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !