२० असार २०८१, बिहिबार

प्रचण्डको दावी : नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए


प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको दावी गरेका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन् ।

आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । उनले भने, “वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौँ बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता भई नै रह्यो ।”

उनले आफूले जनतासँग गरेको वाचा पुरा गरेको बताए । नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने उनको भनाइ थियो । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा स्वदेश र विदेशमा चर्चा हुने गरेको उनले बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरिएको बताए । विगतमा अभिशाप बनेको नारायणी तटीय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने उनको भनाइ थियो ।

आयोजना सम्पन्न हुँदा २९० बिघा जमिन संरक्षण हुने र केही रकम लागत खर्च वापत लिएर सो क्षेत्र उकास भएको जमिन सम्बन्धित जग्गा धनीलाई नै दिने आयोजनाको लक्ष्य रहेको उनले जानकारी दिए । तोकिएकै समयमा गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटीय क्षेत्रका नागरिकले कहिलै दुःख भोग्नुनपर्ने बताइन् । यो आयोजनाले नागरिकको धन जनाको रक्षा गरेको भन्दै आफूले निर्वाचनका बेला गरेको बाचा पूरा गरेको बताइन् । रु चार अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !