५ जेष्ठ २०८१, शनिबार

अध्यक्ष ओलीद्वारा एकैदिन मुलुकका ७५३ वटै पार्टीका कमिटीलाई सम्बोधन


केपी शर्मा ओली सम्बोधन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि आज मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गरेका छन् ।

एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता-पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको हो । अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपा (एमाले) का सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जान निर्देशन दिएका छन् ।

आज स्थानीय तहको निर्वाचन प्रतिबद्धता-पत्र तयारी कार्यशालालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले गठबन्धनका बारेमा भने, ‘गठबन्धन उहॉहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ ।’

ओलीले थप्दै भने, ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।’

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गरेका हुन् । सो पार्टीको ११ चैत्र ११ गते शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले आजको कार्यक्रम तय गरेको थियो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा हाोमिन पनि उनले निर्देशन दिए । प्रतिबद्धता-पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले प्रतिबद्धता-पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए ।

मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता-पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे । कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीबाच निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए । उनीहरुले पार्टीबाट गरिएका अपेक्षाहरू राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !