९ मंसिर २०८१, आइतबार

बिमस्टेक बलियो बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड


शेरबहादुर देउवा बिमस्टेकको भर्चुअल बैठकमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्न बलियो आधार बौद्ध दर्शन भएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका छन् । उनले भने, “गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्छ ।”

यद्यपि बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि बढाइएपनि अझसम्म भने सञ्चालनमा आउँ सकेको छैन ।

यस्तै उनले जलवायु परिवर्तनको सम्बन्धमा कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनको संकटले हिमाल र समुद्रबीचको जैविक सम्पर्कमा असर गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले फर्कन नसक्ने गरी आउने संकटभन्दा पहिले नै कडा कदम चाल्नुपर्ने पनि सचेत गराए ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ देखि १६ ‘हाइब्रिड’ ढाँचामा शुरु भएको छ । यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता, उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !