काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । कांग्रेसले चुनावी तालमेलबारे आज निर्णय गर्न नसकेकोले बैठक भोलि दिउँसो ३ बजे पुन: बस्ने भएको हो ।
गत शुक्रबारदेखि शुरु भएको जारी बैठक आज सकिने भनिएपनि अन्य दलहरुसंग आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न नसकेको हो ।
हिजोको बैठकमा आवश्यकताको आधारमा चुनावी तालमेलका विषयमा निर्णय गर्नुपर्ने धारणा अधिकांश सदस्यहरुले राखेका थिए । भोलि बस्ने भनिएको बैठकबाट काँग्रेसले चुनावी तालमेलबारे निर्णय गर्ने भएको हो ।
सबैभन्दा धेरै चासोको विषयको रुपमा रहेको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई सघाउने कि नसघाउने भन्ने विषयमा पनि आजको बैठक तार्किक निष्कर्षमा पुग्ने बुझिएको छ ।
काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता स्थानीय निर्वाचनमा गठबन्धनको पक्षमा देखिएका छन् भने नेता डा. शेखर कोइराला समूह भने गठबन्धनको विपक्षमा देखिएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।