७ मंसिर २०८१, शुक्रबार

राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउने कमल थापाको घोषणा


कमल थापा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् । राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दूराष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए ।

पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उनले पार्टीले सुशासन कायम गराउनका लागि पहल गर्ने बताए ।

निर्मल निवासको असहयोगका कारण नै राप्रपा नेपाल स्थापना भएको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालको उज्ज्वल भविष्य रहेको दाबी गरे । उनले देश र पार्टीको प्रतिकूल अवस्थामा राप्रपा नेपालको स्थापना भए पनि पार्टीभित्र केही गलत व्यक्ति प्रवेश गराउँदा समस्या आएको बताए ।

राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यले राप्रपा नेपालले ३० दिनमा ७७ जिल्लामै सङ्गठन, ३२ दिनमै छ वटा भ्रातृ सङ्गठन विस्तार गरेको चर्चा गर्दै पार्टी अध्यक्ष थापाको नेतृत्वले सार्थकता पाउने दाबी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरगोविन्द श्रेष्ठ, केन्द्रीय सदस्य रामसुन्दर विष्ट, राप्रपा नेपाल भक्तपुरका अध्यक्ष माधव खत्री, उपाध्यक्ष श्याम नेपाललगायतले राप्रपा नेपालप्रति जना आकर्षण बढिरहेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !