१३ आश्विन २०८१, आइतबार

गोरखाको लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

गोरखा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोरखाको लाप्राक र बारपाक लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका हुन् ।

लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उहाँले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका छन् । “लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ”, उनले भने, “यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।” उनले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।

विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिए । “विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो”, उनले ने, “तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !