८ माघ २०८१, मंगलबार

प्रचण्डको अपील : सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाऔं


प्रचण्डको अपील

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेशलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउन अपील गरेका छन् ।

सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरी सुदूरपश्चिमले बीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताए ।

प्रचण्डले एकदिन दुईदिन हैन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यबाट काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्यो, त्यसलाई उल्ट्याउनु उचित हुने बताए । उनले आफूहरुले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दिने काम गरेको भएपनि पूर्ण नभएको उल्लेख गरे ।

उनले भने, ‘समाजवादको यात्रामा अगाडि नबढेसम्म सयौंवर्षदेखि कायम विभेद र अपमानको अन्त्य हुने र सुपले नेपालमा समुचित अधिकारसहितको सम्मान प्राप्त हुने प्रक्रिया पुरा हुने छैन ।’

प्रचण्डले समाजवादको आधार निर्माण गर्ने, आधार इलाकाको रुपमा यो प्रदेशलाई विकसित गर्ने र काठमाडौंलाई सन्देश दिने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए । उनले अब नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरि सुदूरपश्चिमले वीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘हिजो जनवादी क्रान्तिमा सुदूरपश्चिमले त्यो विशिष्ट भूमिका नखेलेको भए नेपालमा संघीय गणतन्त्रको स्थापना हुने थिएन । त्यसैले त्यो बेलाजस्तै अहिले फेरि समाजवादी आन्दोलन र क्रान्तिका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !