२२ भाद्र २०८१, शनिबार

संसदकाे बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संघीय संसद सचिवायलद्वारा आज आइतबार दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची हिजो सार्वजनिक गरिएको हो । संसदकाे बैठक बस्नुअघि आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो ।

यसअघि फाल्गुन १८ गते बुधबार कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए ।

सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो । त्यसैले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिनिधिसभाको १८ गते बसेको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिएका थिए । उनले हाम्रो नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिएका थिए ।

प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था रहेको छ । यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिएका थिए ।

यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले महाभियोग प्रस्तावका विषयमा शुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताएको छ । एमाले सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुँदै आएको छ ।

एमालेले सभामुख सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्नुका साथै सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुँदै आएको हो ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्ने कार्यतालिका रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !