६ बैशाख २०८१, बिहिबार

रावल र बिप्लवबीच भेटवार्ता, एमसीसीविरुद्ध मोर्चा बन्ने संकेत


रावल र बिप्लवबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’बीच भेटवार्ता भएको छ । नेकपा महासचिव विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर आज बिहान एमाले नेता रावलको निवासमा पुगेका थिए ।

एमाले नेता रावलले केही सयमअघि सामाजिक संजाल ट्वीटरमा लेख्दै आज नेकपाका महासचिव विप्लव’ र नेता विश्वकर्मासंग आफ्नो घरमा भेटवार्ता भएको जानकारी दिएका छन् ।

रावल बिप्लवसँग नजिकिएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थप आक्रोशित हुनसक्ने प्रवल सम्भावना रहेको छ । आफ्नै पार्टी एमालेले संसद अवरोध गरेको बेला रावलले संसदवाट अनुमोदन गर्नुअघि बोलेको भनेर एमाले अध्यक्ष ओली यसअघि नै आक्रोशित भएका थिए ।

संसदवाट एमसीसी पारित भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले रावललाई पार्टीको अनुशाशन उल्लंगन गरेको भन्दै कारबाही गरिने समेत संकेत गरेका थिए । यसरी रावल पार्टीमा ओलीमाथि दवाव बढाउने रणनीतिमा छन् भने बिप्लवसंग रावलले भेटेसंगै ओली रावलसंग थप चिढिने सम्भावना बढेको छ ।

नेता रावलले बिप्लव र प्रकाण्डहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिएको जानकारी दिएका छन् । नेता रावलले देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने आफूले विचार राखेको बताएका छन् ।

यता विप्लवको सचिवालयका अनुसार भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा भएको छलफलमा रावलले पनि सकारात्मक जवाफ दिएको बताएको छ ।

यसअघि विप्लवले हिजो बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल लगायतलाई समेत भेटेका थिए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदवाट अनुमोदन भएपछि बिप्लव सक्रिय भएका छन् ।

एमसीसी अनुमोदनको विरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएर सक्रियता बढाएको बिप्लव समूहले नेपालबन्द समेत गरेर देशमा आफ्नो बलियो राजनीतिक उपस्थितिको सन्देश दिन खोजेको देखिन्छ ।

एमसीसी प्रतिनिधिसभावाट अनिमोदन भएसंगै आम नागरिकमा विशेष चासो बढ्नुको साथै यसको विषयमा नेपाली समाज दुई धारमा विभक्त भएको छ : एमसीसीको पक्षमा हुने एक धार र यसको बिपक्षमा हुने अर्को राष्ट्रवादी अर्को धार ।

एमाले नेता भीम रावल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल र विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् । एमालेमा रावल, माओवादीमा श्रेष्ठ, नेकपा एसमा खनाल र बिप्लव समूहले एमसीसी राष्ट्रघाती भएकोले संसदवाट अनुमोदन गर्नु हुदैन भनेर धेरै समयअघिदेखि नै बिरोध गर्दै आएका थिए ।

बिप्लवले माओवादी केन्द्रका नेता श्रेष्ठ, एकीकृत समाजवादीका बरिष्ठ नेता खनाल र संसदमा एमसीसी सम्झौताको चर्को बिरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् ।

विप्लवले एमसीसी बिरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा सहभागी गराउन पहल जारी राखेको समाचार बाहिर आएका छन् । यी विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटमा विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव पनि राखिरहेका छन् ।

एमसीसी संसदवाट पारित भएपछि देशको राजनीतिक कोर्स कतातिर कसरी अघि बढ्ला भनेर आम नेपाली नागरिकले गम्भीर चासोका साथ अवलोकन गरिरहेका छन् । एमसीसीको विषयलाई लिएर आगामी स्थानीय निर्वाचनमा कुन पार्टीको हालत के हुने हो त्यो भन्ने हेर्न केही समय भने कुर्नुपर्ने नै भएको छ तर त्यो अघि एमसीसीविरुद्ध राष्ट्रवादीहरुको मोर्चा बन्ने संकेत चाही प्रष्ट देखिन थालेको छ ।

यो पनि पढ्नुहोस्

नारायणकाजी र विप्लव नजिकिएसंगै प्रचण्ड तनावमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !