काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरेका छन् । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता छलफलला लागि पेश गरेर अनुमोदन गर्ने तयारी गर्नै लाग्दा मन्त्रिपरिषद्को बैठक तयारी गरिएको हो ।
एमसीसी सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो । एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
मन्त्रिपरिषद् बैठक ३ बजे बस्ने भनिएपनि पनि कहाँ बस्ने भन्ने बारेमा जानकारी दिएको छैन । आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्बाट पारित गर्ने तयारीमा देउवा सरकार रहेको छ ।
सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो । आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयबाट ११ बुँदामा व्याख्यात्मक टिप्पणी समावेश गरिएपछि सैद्धान्तिक छलफलका लागि प्रतिनिधिसभा बैठकमा सम्झौता प्रस्तुत गर्ने तयारी भएको एक मन्त्रीले बताए ।