२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच आज पुनः भेटवार्ता हुने


शेरबहादुर देउवा र केपी ओली

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज पुन: भेटवार्ता हुने भएको छ । यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो ।

हिजो शुक्रबार राती अबेरसम्म छलफल गरेका उनीहरूबीच आज पुन: छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ ।

हिजो भएको छलफलमा कांग्रेसको तर्फवाट सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी भएका थिए भने एमालेको तर्फबाट अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

ओली निवास बलकोटमा हिजो साँझ भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले र अध्यक्ष ओलीसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राख्नुका साथै प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा बृहत छलफल भएको थियो ।

देउवाले ओलीलाई अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका थिए भने जवाफ ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको उनले जानकारी दिएका थिए ।

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए भने प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।

छलफलपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर सो भन्दा अघि आफूहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको र छलफल गर्दै अघि बढ्ने सहमति भएको उनले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !