२ कार्तिक २०८१, शुक्रबार

कांग्रेस र एमालेका नेताहरुबीच हुने भनिएको छलफलको तयारी


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज पनि छलफलको तयारी गरिएको छ । पोखरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किए लगत्तै दुबै दलका नेताहरुबीच छलफल हुने भएको हो ।

छलफल कुन समयमा बस्छ भन्ने अहिलेसम्म समय तय भईसकेको छैन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहयोग नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् ।

प्रधानमन्त्री देउवाले हिजो बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए । एमसिसी संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा कांग्रेस र एमालेबीच हिजो साँझ भएको छलफल सकारात्मक भएको दावी गरिएको छ ।

संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पारेका छन् ।

कांग्रेस र एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत नजिक पुगेको बताइएको छ । यद्यपि कांग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने बालुवाटार स्रोतले बताएको छ ।

एमसीसी प्रतिनिधिसभा बैठकमा छलफल गराउँदै अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनभित्र मतभेद देखिएपछि सभामुख सापकोटामाथि महाअभियोग लगाउने सम्भावना बढेको हो ।

सभामुख सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै एमालेले संसदको बैठक अवरोध जारी राख्नुका साथै सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !