काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार छाड्ने तयारी गरेको छ भने सरकारबाट बाहिरिने तयारी गरेसंगै नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।
माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेकोले माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी रहेको छ ।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता जसरी पनि संसदवाट अनुमोदन गर्ने गरी अघि बढेकाले माओवादी केन्द्र सरकारमा नरहने निष्कर्षमा पुगेर आन्तरिक छलफलमा जुटेको हो ।
बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने लगायतका विषयमा जारी बैठक केन्द्रित रहेको माओवादीका एक नेताले बताए । माओवादी संसदीय दलको बैठकले एमसीसी जबरजस्ती अनुमोदन गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए । हिजो बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री देउवासँग भएको छलफलपछि अब सँगै अघि बढ्न नसकिने निष्कर्षमा माओवादी पुगेको बताइएको छ ।