काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोभिड- १९ को संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने बनाए । उनले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।
राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लाग्नुभएका तथा दुईवर्ष कार्यकाल बाँकी रहनुभएका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड-१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताए ।
‘हामी यहाँ फागुन २० गते कार्यकाल पूरा भएर बिदाइ हुने र दुई वर्षपछि बिदा भएर जाने राष्ट्रिय सभा सदस्यहरू सहभागी छौं,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड-१९ बिरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउन लागौं ।’
सो अवसरमा उनले कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धी र राज्यको प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको उनले बताए ।
‘नेपालमा महामारीले निकै संकटको अवस्था सिर्जना गर्यो, लाखौंको संख्यामा संक्रमित भयौं र हजारौंको ज्यान गयो,’ उनले भने, ‘महामारीले ल्याएको संकटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ । यो सकरात्मक पक्ष हो ।’
कार्यक्रममा उनले गत वर्ष सातवटा प्रदेशमा कोभिड जोखिम सञ्चारसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएपछि सकारात्मक प्रतिक्रिया आएकाले यो वर्ष राष्ट्रिय सभाका सदस्यज्यूहरूको सहभागितामा यो कार्यक्रम आयोजना भएको बताए । उनले यस्तै कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा क्रमश आयोजना हुने जानकारी गराए । आर्थिक र प्राविधिक सहयोग गरी यस्तो महत्वपूर्णकार्यक्रम आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विशेषगरी विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयलाई धन्यवाद समेत दिए ।
त्यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालिन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गरे ।
सो क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरे ।
अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष शशिकला दहाल, राष्ट्रिय सभा सदस्यहरु, संघीय संसदका महासचिव डा. भरतराज गौतम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. पाण्डव, राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्र पश्चात कोभिड-१९ रोकथाम र खोपसम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागितासम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहको प्रस्तुति रहेको छ ।