१२ असार २०८१, बुधबार

एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. भण्डारीद्वारा सर्वोच्चमा रिट पेश


डा. सुरेन्द्र भण्डारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्चमा एमसीसी अघि नबढाउन माग गर्दै रिट निवेदन पेश गरेका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले नेपालका लागि नेपाली नामक दलको तर्फबाट रिट दिएका हुन् ।

एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै भण्डारीले रिट दिएतापनि दर्ता भने भएको छैन । नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनु भन्दै मागदावी गरिएको छ ।

पेश गरिएको रिटमा भनिएको छ, ‘लोकतन्त्र, सार्वभौम नागरिकको अभिमत र जुन उद्देश्यका लागि राजनीतिक परिवर्तन गरी २०७२ को संविधान निर्माण गरियो सो धरोहरको सिंगो संवैधानिक संरचना समेतलाई धुमिल बनाउने र लोकतन्त्रको गलत अभ्यास संस्थापित गर्ने भएको हुँदा ‘व्यवस्थापिका संसदमा उपस्थित सदस्य संख्याको बहुमत’ भन्नाले केवल कुनै बैठकमा उपस्थित सदस्य संख्या नभएर संसदमा कायम रहेका सांसद संख्याको कुल अर्थात् वर्तमान अवस्थामा २७१ जना प्रतिनिधिसभाका सदस्यलाई बुझाउँछ भनि व्याख्या गरी पाउँ र सो २७१ को संख्याको बहुमत विपरीत संसदबाट एमसीसी पारित गर्ने कार्य नगर्नु/नगराउनु भनि अन्तरिम आदेशसमेत जारी गरी पाउँ ।’

रिटमा संसदबाट अनुमोदन गर्दाको बहुमत संख्याको व्याख्या गर्न माग गरिएको छ । रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । एमसीसी टेबल भएको विरोधमा दलहरु विभाजित भएका छन् भने जनस्तरमा पनि यसको विरोध भइरहेको छ । विरोधमा उत्रेकाविरुद्ध प्रहरीले बल प्रयोग गरेको थियो ।

भण्डारीले एमसीसीसम्बन्धी अहिलेसम्म अघि बढाइएका काम बदर गर्न पनि माग गरेका छन् । उनले पेश गरेको रिट निवेदनमा प्रधानमन्त्री, प्रधानमन्त्री प्रतिनिधिसभा र प्रतिनिधिसभा तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, परराष्ट्र, कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !