काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित हुँदै आएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेपालपत्रलाई जानकारी दिए । आज बस्न लागेको बैठकमा संसद बैठकको कार्यसूचीबारे छलफल हुनुको साथै संसदमा जारी अवरोध हटाउने विषयमा समेत छलफल हुनेछ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक आज बिहान १० बजे बस्दै छ । आज बस्न लागेको गठबन्धनको बैठकले एमसीसी संसदमा टेवुल गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बुझिएको छ ।
नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरस्थित अर्याल होटलमा एमसीसीबारे ठोस धारणा बनाउन हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर एमसीसीलाई संशोधन नगरी यथास्थितिमा पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भई रहेको बेला नेकपा (एस) ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो अवलम्वन गर्ने रणनीति अपनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदमा टेवुल गराउन लागि परेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा तीब्रता दिएपछि यसअघि संसद्मा टेबुल गर्न नदिने अडान लिंदै आएको नेकपा (एस) गलेको हो ।
एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्ने जोखिम भएपछि नेकपा (एस) बीचको बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो । यस्तै नेकपा माओवादी पनि एमसीसीलाई संसद्मा टेवुल गर्न दिने सम्मको निर्णयमा पुग्नुपर्ने बाध्यता भएकोले उक्त विषयमा सहमत हुने सक्ने माओवादी स्रोतले नेपालपत्रलाई जानकारी दिएको छ ।
यदि सत्ता गठबन्धनको आज बस्ने बैठकले एमसीसी संसद्मा टेबुल गर्ने विषयमा सहमत भएर साझा धारणा तय गरेमा कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको कार्यसूचीमा एमसीसी समावेश गर्ने प्रवल सम्भावना रहेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आज दिउसो बस्ने संसदको बैठकमा एमसीसी टेवुल हुनेछ ।