१३ आश्विन २०८१, आइतबार

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्धः मुख्यमन्त्री त्रिलोचन भट्ट


त्रिलोचन भट्ट

५ वैशाख, कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।”

मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी बनाउन उनले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन् । यसअघि उनकी छोरी डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् ।

मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न उनले अनुरोध गरे ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुगेका भट्टले आज बिहान आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गराए ।

देशभरि वैशाख २ वाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ ।-रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !