७ मंसिर २०८१, शुक्रबार

म अम्पायर मात्र हो, दलहरू सहमत भए एमसीसी रोक्दिनँ : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीका बारेमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्र भएकोले राजनीतिक दलहरुवीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदवाट पारित गर्ने बारेमा सहमति भए आफूले नरोक्ने स्पष्ट पारेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र संसदको गतिरोध हटाउने विषयमा सिंहदरवारमा भएको सर्वदलीय बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले एमसिसीको बारेमा दलहरुवीच सहमति भए आफू बाधक नबन्ने बताएका हुन् ।

सर्वदलीय बैठकमा एमसीसीका विषयमा के छलफल भयो भन्ने संचारकर्मीको प्रश्नको उत्तर दिंदै उनले सर्वदलीय बैठक सकारात्मक रहेको भन्दै सबैले आ-आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको समेत बताए ।

सभामुख सापकोटाले एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको बताए । उनले सदन सुचारु गर्ने र विपक्षी दल एमालेसँग छलफलको वातावरण बनाउनेबारे सबै नेताहरूको एकमत रहेको बताए ।

आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको सभामुख सापकोटाले बताए । उनले दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अव संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए ।

बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, जनमोर्चा संसदीय दलकी नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल लगायतका नेताहरु सहभागी छन् । यस्तै बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !