२४ पुस २०८१, बुधबार

ओलीको स्पष्टोक्ति : एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर नहिँड्ने स्पष्ट पारेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमालेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेले प्रधानन्यायाधीश जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् ।

बैठकमा एमालेका सांसदहरु भीम रावल, घनश्याम भुसाल, महेश बस्नेत, गोकुल बास्कोटा, झपड रावल र बिमल बिकले जबरामाथिको महाभियोग प्रस्ताव र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने माग गरेका थिए ।

सांसदहरुको प्रश्नको उत्तर दिँदै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमा गम्भीर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने धारणा राखेका थिए । ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको बताएका छन् । भट्टराईले महाभियोग पछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !